arin enterprises

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिएको दावी

SamacharDesk – बिराज | २०७८ जेठ ८, शनिबार

मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वत्र विरोध शुरु भइरहेको छ । यसै क्रममा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुर र प्रतिगमनकारी भन्दै विभिन्न ५ वटा दलले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले माधव नेपाल समूहसमेतले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

विज्ञप्ती जारी गर्दै पाँच दलले नेपाली जनताको लामो, कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी आघात पुर्‍याएको भनेका छन् ।

बहुमत सदस्यको हस्ताक्षरसहित पेश गरिएको दावीमाथि संविधानतः निर्णय गर्नुपर्ने संवैधानिक दायित्व राष्ट्रपति विद्या भण्डारीले निर्वाह नगरेको आरोप पनि पाँच दलले दिएका छन् ।

‘उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलेमतोमा बदनियतपूर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको छ’ विज्ञप्तीमा लेखिएको छ ।

निर्वाचन नगराई सत्ता लम्ब्याउने दुराशयबाट आम निर्वाचन घोषणा गरिएको भन्दै यसले महामारीको अवस्थामा जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलेको दावी विज्ञप्तीमार्फत गरिएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र नेपालको सर्वोपरि राष्ट्रहितको रक्षाका लागि दृढतापूर्वक अगाडी बढ्न विज्ञप्तीमार्फत आह्वान गरिएको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082