arin enterprises

महानगरबाट सामुदायिक स्वास्थ्य परिषदलाई ६ लाख प्रदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण २९, शुक्रबार

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा लक्षित समूहका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको लागि काठमाडौँ महानगरले ६ लाख रुपैयाँ प्रदान गरेको छ ।

आज महानगरले सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लुलाई उक्त रकम प्रदान गर्नुभएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले परिषदमा पुगेर उक्त रकमको चेक प्रदान गर्नुभयो ।

रकम हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले काठमाडौँ महानगरले आफ्ना नागरिकसँगै देशभरिबाट उपचारका लागि आउने विरामीको सहजता र सहुलियत खर्चका लागि लगानी गरिरहेको बताउनुभयो ।

नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार जोगाउन लगानी बढाएको शाक्यले जानकारी दिनुभयो ।\

कोभिडको दोस्रो लहरमा महानगरले आफैँ र महानगरको सहयोगका सञ्चालन गरिएका स्वास्थ्य सेवाका विषयमा चर्चा गर्दै उहाँले विकास निर्माण या अन्य सुविधाको विषयमा कसैले पनि महानगरमा डेलिगेसन आउनु नपरेको दावी गर्नुभयो ।

‘हामी आफैँ घरदैलोमा पुगेर आवश्यकता सोधेका छौँ । हामी पूर्वाधार विकास गरेर नागरिकलाई हस्तान्तरण गर्न चाहन्छौँ । यसको संरक्षण र दिगो उपयोग गर्ने जिम्मा स्थानीयकै हो’ शाक्यले भन्नुभयो ।

महानगरपालिकाका प्रवक्ता एवम वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, परिषदबाट करदाता र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकका लागि निःशुल्क र अन्यका लागि सहुलियत शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्ने योजनाअनुरुप काम भइरहेको जानकारी गराउनुभयो ।

परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले, समुदायस्तरीय स्वास्थ्य सेवाका लागि महानगरको लगानी अभिभावकीय भूमिकाको उदाहरण भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा परिषदका महासचिव मुकुन्दप्रसाद पाण्डेय र सचिव प्रकाश श्रेष्ठले सामुदायिक विकासप्रति सरकारको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।

परिषदले २ रोपनी ९ आना १ पैसा जग्गामा भौतिक संरचना बनाएर निःशुल्क र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । परिषदले सञ्चालन गरेको अस्पतालमा ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निःशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ । 

Categorized in स्थानीय