एमालेको उम्मेदवार बन्न ६ बुँदे मापदण्ड
SamacharDesk – Aakash Rajopadhyaya | २०७८ चैत्र ११, शुक्रबार

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्नका लागि ६ वटा मापदण्ड तय गरेको छ ।
एमालेको बिहीवार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो ।
स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको नेकपा(एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।
त्यस्तै उम्मेदवार सिफारिस गर्नका लागि वडा अध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख÷उपप्रमुखको हकमा गाउँ÷नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर÷ महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको छ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारीत गरेको छ । सोही पात्रोको आधारमा पार्टी पंक्ति परिचालित हुने एमालेले जनाएको छ । सबै केन्द्रीय नेताहरुलाई भुगोलमा केन्द्रीत हुन पार्टीले निर्देशन दिएको उपप्रमुख रिजालले बताउनुभयो ।
बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ । पार्टीका २९ वटा विभाग जिल्ला तहमा गठन गर्नसकिने पनि निर्णय भएको छ ।
अन्य पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि केन्द्रीय संगठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिनका लागि केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ ।
प्रचार विभाग उपप्रमुख रिजालका अनुसार चैत मसान्तसम्म कम्तिमा एक महिलासहित ३ जना व्यक्तिलाई उम्मेवारको रुपमा सिफारिस गर्न निर्देशन दिइएको छ ।
Categorized in राजनीति