arin enterprises

बागमती प्रदेशले मनायो ६६ औं प्रहरी दिवस

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन २०, बुधबार

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले प्रहरी समायोजनको कार्य यथाशिध्र छिटो सम्पन्न गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शाक्यले यस्तो माग गर्नुभएको हो ।

‘प्रहरी ऐन बनिसकेपछि पनि प्रहरी समायोजन हुन नसकेको अवस्था हामी माझ छ । यस्तो अवस्थामा प्रहरी समायोजनको कार्य यथाशिध्र छिटो गर्न नेपाल सरकारसँग माग गर्दछु’ मन्त्री शाक्यले  भन्नुभयो ।

उहाँले नेपाल सरकारले प्रहरी समायोजन गर्न ढिलो गरिरहेको अवस्थामा समेत बागमती प्रदेश सरकारले आफ्नो दायित्व पूरा गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

सो अवसरमा मन्त्री शाक्यले बागमती प्रदेश प्रहरीका लागि अहिलेसम्म ४० भन्दा बढी प्रहरी भवनहरु निर्माण गरिसकेको बताउँदै यो बर्ष पनि प्रहरी भवनहरु निर्माण गर्न करीब ४५ करोड बजेट राखेको जानकारी गराउनुभयो ।

प्रहरी समायोजनको कार्य यथाशिध्र सम्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकार प्रहरीलाई पूर्ण रुपमा साधन स्रोतले सम्पन्न बनाउन सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मीलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

त्यसैगरी प्रहरी दिवसको अवसरमा ३ सय ६७ जना प्रहरी र कर्मचारीले रक्तदान गरेका थिए भने एक हजार ९३ प्रहरी र कर्मचारीले धार्मिक स्थलको सरसफाई गरेका थिए ।

दिवसकै अवसरमा ‘एक प्रहरी एक विरुवा’ अभियान सञ्चालन गरिएको छ । सो अभियान अन्तर्गत ३ हजार १७९ विरुवा रोेपिएको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ ।

Categorized in राजनीति