arin enterprises

छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ १७, आइतबार

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डकै सभाहल चाबहिलमा आज (आइतवार) बाट महोत्सव सुरु भएको हो ।

छैठौं महोत्सवको लागि ‘आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नारा तय गरिएको छ ।

चलचित्र प्रदर्शनसँगै महोत्सव आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई श्रव्यदृश्य माध्यमबाट पुनस्र्थापित गर्ने अभियान भएको महासंघका प्रमुख सल्लाहकार अमृत सुनवारले बताए ।

महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ ।

महोत्सवमा नेपालभाषा, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।

कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।

लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् ।

वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।

महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

आज आइतवारबाट सुरु भएको महोत्सव आउँदो १९ गते मंगलवारसम्म सञ्चालन हुनेछ ।

Categorized in पेजथ्री