arin enterprises

धर्मादित्यको जन्मजयन्तीसँगै मातृभाषा पत्रकारिता दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ जेठ ११, मंगलबार

आज वैसाख शुक्ल चतुर्दशी, देशैभरका मातृभाषी पत्रकारको साथमा भाषानुरागीहरु विभिन्न किसिमले छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइरहेका छन् ।

दिवसको अवसरमा विगतमा दिनमा नेवाः पत्रकार राष्ट्रिय दबू, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका मातृभाषा पत्रकारिता सम्वद्ध संघसंस्थाले भव्य कार्यक्रमको आयोजना गर्ने गरेका थिए ।

यस वर्ष भने कोरोना संक्रमणको जोखिम उच्च रहेको अवस्थामा भौतिक उपस्थितीका बीच भव्य कार्यक्रमको आयोजना हुन सकेन । प्रत्येक वर्ष गरिँदै आएको पुल्चोकस्थित धर्मादित्यको सालिकमा माल्यार्पण कार्यक्रम पनि यस वर्ष स्थगित भएको छ ।

यद्यपि पत्रकार दबूले आज नेपालभाषा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार, संचारकर्मीको साथमा फोनिज लगायतका विभिन्न मातृभाषी पत्रकारिता सम्वद्ध संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना भने गरेको छ ।

मातृभाषा पत्रकारिता क्षेत्रमा विद्यमान चुनौती, राज्य तहबाट हुने सम्मान र पुरस्कारमा मातृभाषी पत्रकारहरुको समानुपातिक प्रतिनिधित्व लगायतका विषयमा अन्तरक्रियामा छलफल हुने बताइएको छ ।

यसको साथमा मातृभाषी पत्रकारहरुले सामाजिक संजालका माध्यमबाट पनि मातृभाषा पत्रकारिता दिवसको शुभकामना आदानप्रदान गरिरहेका छन् ।

पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्मजयन्तीकै अवसरमा आजको दिनलाई मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो । आजै धर्मादित्यको जन्म जयन्ती पनि मनाउने गरिँदै आएको छ ।

ललितपुर चिकंबहिका जगतमान वैद्य अर्थात धर्मादित्य धर्माचार्यले आजभन्दा ९६ वर्ष अघि नेपाल सम्वत १०४५ (वि.सं. १९८२) मा भारतको कलकत्ताबाट ‘बुद्ध धर्म’ नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । यसैलाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ ।

इतिहासकै पहिलो मातृभाषी पत्रिका ‘बुद्ध धर्म र नेपालभाषा’ ५ बर्षसम्म प्रकाशन भएको थियो । यही पत्रिका प्रकाशनको घटनालाई आत्मसात् गर्दै धर्मादित्य धर्माचार्यको जन्मदिनको अवसरमा मातृभाषा पत्रकारिता दिवसका रुपमा मनाउने अभियानको आरम्भ पत्रकार दबूले गरेको हो ।

देशमा साथै विदेशमा समेत बुद्ध धर्म र बुद्धको सन्देशको प्रचार प्रसारमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ ।

मातृभाषा पत्रकारिताका प्रणेता धर्मादित्य धर्माचार्यको जन्म ने.सं. १०२२ बछलाथ्व १४ मा सप्तपुर महाविहार, चिकंबही, ललितपुरमा भएको थियो भने ने.सं. १०८३ मा उनको निधन भएको हो । 

Categorized in समाज