arin enterprises

दुई प्रहरीको हत्या अभियोगमा सात जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ कार्तिक ४, मंगलबार

कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ ।

अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१० बस्ने ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा अन्यमा २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र सोही उपमहानगरपालिका ११ बस्ने २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेका छन् ।

शनिबार राति करिब साढे १० बजे उक्त पोष्टबाट सीमा क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि नियमित गस्तीमा खटिएको अवस्थामा दुवै प्रहरी सम्पर्कबाट बाहिरिएका थिए । 

सम्र्पकमा नआए पश्चात उनीहरुको खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा हत्या गरी फालेको अवस्थामा आइतबार प्रहरी सहायक निरीक्षक विकको शव फेला परेको थियो । त्यस्तै प्रहरी जवान साँउदको शव मंगलबार फेला परेको थियो । 

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  

प्रहरी अनुसन्धानबाट उक्त नदीबाट करिब ४ सय मिटर टाढा सीमामा अबैध सामानहरुको तस्करी गरिरहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले दुवै प्रहरीको हत्या गरेको खुल्न आएको बताइएको छ । 

योजनाबद्ध रुपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरी करिब ४ सय मिटर टाढा मोहना नदीमा लगी शव फाली उनीहरु फरार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरु उपर ज्यान कसूर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Categorized in अपराध