arin enterprises

दशैंको सातौं दिन, पर्वको रौनक शुरु

SamacharDesk – बिराज | २०७८ आश्विन २६, मंगलबार

नेपाली हिन्दुहरुको महान चाड बडा दशैंको क्रममा आज सप्तमी तिथि । आश्विन शुक्ल प्रतिपदाको दिनमा दशैं घर, पूजा कोठा अथवा आगम भित्र कलश स्थापना गरेर जमरा राखी शुरु भएको बडा दशैं रौनक आजबाट छाएको छ ।

आजबाट दशैंको सरकारी विदा पनि शुरु हुने भएकोले सबैमा आजकै दिनबाट दशैंको उमङ्ग छाउने गर्दछ ।

आज पनि काठमाडौं उपत्यकालगायत देशैभरीका शक्तिपीठहरुमा ठुलै घुइँचो लागेको छ ।

काठमाडौंको भद्रकाली, गुह्येश्वरी, ईन्द्रायणी, शोभा भगवती, नक्साल भगवती, फर्पिङमा दक्षिणकाली, बज्रबाराही, ललितपुरमा बगलामुखी, भक्तपुरमा ईन्द्रायणी, वाराही, साँखुको वज्रयोगिती लगायतका पीठमा भीड लाग्ने गर्दछ ।

उपत्यका बाहिर गोरखाको मनकामना, डडेलधुराको उग्रतारा, दोलखाको कालिन्चोक भगवती, काभ्रेको पलान्चोक भगवतीलगायतका स्थानमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

प्रतिपदाकै दिनबाट शक्तिपीठमा भीड लाग्ने शुरु भएकोमा विदा शुरु भएपछि आजबाट दर्शन र पूजा गर्नेको संख्या झनै बढेको छ ।

नवरात्रीको क्रममा कालरात्रीको पूजा गरिँदै

नवरात्रीको क्रममा आज दुर्गा भवानीको कालरात्री स्वरुपको पूजा आराधना गरिँदैछ । कालरात्रीलाई दुर्गा भवानीको सातौं स्वरुपको रुपमा लिइन्छ ।

असुरहरुका राजा रक्तबिजको संहार गर्न दुर्गा भवानीले कालरात्री अवतार लिएको कुरा पुराणहरुमा उल्लखे गरिएको छ ।

चार हात भएकी, कालो वर्णकी कालरात्रीको कपाल फिँजाइएको हुन्छ ।

कम्मरमा हातको माला र गलामा मुण्डमाला लगाएकी कालरात्रीको चार हातमध्ये एक हातमा खड्ग, एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएकी हुन्छिन् ।

देवीको कालरात्री स्वरुपलाई शुभम्करी पनि भनिन्छ । कालरात्रीको उपासना गर्नाले मनभित्र र बाहिरका हरेक डरत्रास समाप्त हुने जनविश्वास छ ।

फुलपाती पनि भित्र्याईँदै

आज आआफ्नो कुल परम्परा अनुसार घरघरमा फुलपाती पनि भित्र्याईँदैछ । आज फुलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरू घरमा भित्र्याउने गरिन्छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पुजा गर्ने गरिन्छ ।

आजै गोरखा दरवारबाट हनुमानढोकास्थित दशैंघरमा पनि फुलपाती ल्याएर भित्र्याइन्छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले फुलपाती बोकेर ल्याउने गर्छन् । जीवनपुरदेखि जमलसम्म भने काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले बोकी ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजासहित फूलपाती हनुमानढोका पुर्‍याइन्छ ।

पृथ्वी नारायण शाहले उपत्यकामा विजय प्राप्त गरेपछि शुरु भएको यो परम्परा आजसम्म पनि निरन्तर हुँदै आएको छ ।

Categorized in संस्कृति