‘वान एक्स बेट’मा संलग्न ८ जना पक्राउ
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३२, बिहिबार

प्रहरीले अवैध अनलाइन बेटिङ एपमा संलग्न आठ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो ।
बेटिङ प्रचार गरेको आरोपमा कलाकारहरु देखि युट्युबर र टिकटकर समेत पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीको स्रोत अनुसार बल्छी ध्रुबे नामले परिचित गोरखा घर भई हाल बनस्थली बस्ने हास्य कलाकार मरिचमान श्रेष्ठ र म्याकुरी भनेर चिनिने धनकुटा घर भई भक्तपुर बस्ने कलाकार पवन खतिवडा पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा पोखरा घर भई नयाँबजार बस्ने राजु पौडेल ‘राजुमास्टर’ र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन् ।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा जिडी, मोरङ घर भई भक्तपुर ठिमी बस्ने सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन् ।
नेपालमा अवैध वनएक्स बेटको आफ्नो युट्युब च्यानलमा प्रचार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
युट्युबमा प्रमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरुले विज्ञापन गरेको देखिन्छ । तिनीहरुले मानिसहरूलाई गेम खेलेर वा गेमको प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउन सकिने लोभ देखाउने गरेका पाइएको बताइएको छ ।
यसका लागि उनीहरूले आफ्नो युट्युब च्यानलमा अपलोड भएका भिडिओ वा डिस्क्रिप्सनमा बेटिङ एपको प्रमो कोडसहित प्रचार सामग्री राख्ने गरेका छन् ।
प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेलाउन प्रयोग हुने ल्याप्टप, सिम, विभिन्न बैंकको चेक र ३७ लाख रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ ।
बुधबारमात्रै पनि प्रहरीले बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
ती पाँच जनाले मात्र ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीले जनाएको हो ।
Categorized in अपराध