काठमाडौं महानगरको ९ औं अधिवेशन असार २ गतेबाट
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २४, सोमबार

असार २ गतेबाट काठमाडौँ महानगरपालिकाको ९ औँ अधिवेसन शुरु हुने भएको छ ।
आइतबार राष्ट्रिय सभा गृहमा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा समीक्षा गर्दै अधिवेशनको मिति तोकेको हो ।
अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने बताइएको छ ।
बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आउँदो बर्षका लागि गर्नु पर्ने कामलाई योजनाका रुपमा संकलन तथा वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तर दिँदै प्रमुख शाक्यले मानवीयता र मानव जीवन रक्षाका सवालमा गरिने कुनै पनि काम सशर्त नहुने बताउनुभयो ।
बैठकले अहिलेसम्म महामारी नियन्त्रणका लागि गरिएका काम अनुमोदन गरेको छ ।
बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समितिमार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।
बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट्याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ ।
यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।
Categorized in स्थानीय