arin enterprises

प्रतिनिधिसभाको आइतबारको कार्यसूची सार्वजनिक, एमसीसी लगायतका विषयमा छलफल हुने

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १४, शनिबार

प्रतिनिधिसभाको भोलि आइतबार बस्ने बैठकको लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्नुहुने कार्यसूचीमा उल्लेख छ। त्यसपछि कार्यसूचीको दोस्रो नम्बरमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुहुनेछ।

यसअघि प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आइतबारका लागि सारिएको हो। सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गर्नुभएको छ। 

प्रतिनिधिसभा बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा व्यस्त छन्। प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफललाई तीव्र पार्नुभएको छ। शनिबारसमेत उहाँले सत्ता गठबन्धन र विपक्षी दलका नेतासँग छलफल गर्नुभएको छ।

 

Categorized in राष्ट्रिय