गठबन्धन सरकार बालुवाको मूलाजस्तै : ओली
SamacharDesk | २०७८ फाल्गुण २८, शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बालुवाको मूला जस्तैको संज्ञा दिनुभएको छ ।
नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी गर्नुभयो ।
उहाँले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको टिप्पणी गर्नुभएको छ । जनतामा जाने विषयलाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताउनुभयो । अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको उहाँको भनाई छ । उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको ओलीको आरोप छ । उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोडी खोजेझैँ गरिरहेको बताउनु भयो । उहाँले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताउनु भयो ।
अध्यक्ष ओलीले अहिले चुनाव जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताउनु भयो । अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिनुभयो । दिनहुँ पार्टी प्रवेशको लहर चलेको र आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने ओलीको दाबी छ । ओलीले मुद्दा लडेर ल्याएको संसदले भत्ता खानेबाहेक केही काम गर्न नसकेको आरोप लगाउनुभयो ।
Categorized in राजनीति