निर्वाचन निर्धक्कका साथ गर्न आयोगको आह्वान
SamacharDesk | २०७९ बैशाख २७, मंगलबार

स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो ।
आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित १९ वटा उच्चस्तरीय टोली गठन गरेको छ । संवेदनशील स्थानमा त्यस्तो टोली परिचालन गरिएको आयोगले जनाएको छ ।
टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्नेछ । मौन अवधिमा आमसभा, गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी उक्त कार्य भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको आयोगले जनाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गर्नुभयो । निर्वाचनको सबै तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएकाले निर्धक्कसाथ मतदानमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटिने छन् । निर्वाचनका लागि ६५ हजार ८ सय ६५ जना स्वयम् सेवक समेत खटिने आयोगले जनाएको छ ।
आयोगमा दर्ता भएका ७९ दलमध्ये ६५ दल निर्वाचन प्रकृयामा सहभागी हुनेछन् ।
Categorized in राष्ट्रिय