arin enterprises

विमानस्थलकै कर्मचारीको मिलेमतोमा सुन तस्करी

SamacharDesk | २०७८ फाल्गुण १४, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याइएको १ किलो १६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उक्त सुन विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण गुरागाईंको मिलेमतोमा विमानस्थलबाट सुन प्रवेश गराउन खोजिएको खुलेपछि विमानस्थल कर्मचारी गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्र्याउन गुरागाईंले सहयोग गरेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको हो ।

यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनको सिक्रीसहित दुबै जनालाई थप अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

Categorized in अपराध