arin enterprises

काठमाडौंको फोहोर उठाउन एक साता लाग्ने

SamacharDesk | २०७८ चैत्र ८, मंगलबार

सिसडोलका स्थानीयवासीले पटक पटक गरेको आन्दोलनका कारण काठमाडौंमा फोहोर थुप्रिएको छ । सिसडोलवासीले बाटो कालोपत्रे गर्नुपर्न माग राख्दै बाटो बन्द गरेपछि विगत केही दिनदेखि काठमाडौंमा फोहोर उठेको छैन ।

काठमाडौं उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले बताउनुभयो ।

त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ । हाल फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको महानगरको भनाइ छ ।

उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ ।

Categorized in राष्ट्रिय