महानगरले बन्द गर्यो आजैदेखि सुरु भएको शैक्षिक मेला
SamacharDesk | २०८० जेठ ३२, बिहिबार

भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले रोकेको छ ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् ।
महानगरका प्रहरी प्रमुखका अनुसार नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य गरेकोले स्टलहरु बन्द गरेको बताएका छन् ।
उहाँले प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको बताए ।
सभामुख देवराज घिमिरले आजै मात्र उक्त शैक्षिक मेला उद्घाटन गरेका थिए ।
कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन्। मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।
Categorized in स्थानीय