arin enterprises

मेयर प्रत्यासी सिंहको संकल्प पत्र सार्वजनिक

SamacharDesk | २०७९ बैशाख १५, बिहिबार

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले आप्mनो संकल्प पत्र सार्वजनिक गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ ।

उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उहाँको प्रतिवद्धता छ । त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो ।

जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उहाँको भनाई छ । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गर्नुभयो । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उहाँले बताउनुभयो । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उहाँको भनाई छ । त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उहाँको संकल्प छ । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटनसँग जोड्ने उल्लेख गर्नुभयो । गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने बताउनुभयो । पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उहाँको भनाई छ ।

महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी युवाका लागि अवसर, महिलाको शशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उहाँको प्रतिवद्धता छ । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो । उहाँले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताउनुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082