रुससँग प्रतिकार गर्न विभिन्न देशबाट युक्रेनलाई सैन्य सहयोग
SamacharDesk | २०७८ फाल्गुण १५, आइतबार

रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ । रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ ।
पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा शरण लिन पुग्न थालेका छन् । यसबीचमा जर्मनी र फ्रान्सले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका छन् भने नेदरल्यान्डले सेना नै पठाउने तयारी गरेको बीबीसीले जनाएको छ ।
आफ्नो पूर्व नीति परिमार्जन गर्दै युक्रेनलाई हतियार सहयोग गर्न जर्मनी तयार भएको छ । साथै उसले आफ्नो हवाई क्षेत्रमा रुसी विमानलाई समेत अनुमति नदिने भएको छ ।
युद्धग्रस्त क्षेत्रमा हतियार उपलब्ध नगराउने आफ्नो पुरानो नीति परिमार्जन गर्दै जर्मनी युक्रेनलाई हतियार दिन तयार भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले जर्मनका चान्सलर ओलाफ शल्ट्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युक्रेनलाई सघाउन जर्मनीले १ हजार एन्टिट्यांक हतियार र मार हान्नसक्ने ५०० मिसाइल पठाउन लागेको लेखेका छन् ।
रुसमाथि विभिन्न देशहरूले प्रतिबन्ध लगाएका छन् । यो क्रममा केही देशले आफ्नो हवाई क्षेत्रमा रुसी विमान प्रवेश नदिने निर्णय लिइसकेका छन् । यस्तो निर्णय लिनेको लहरमा एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकपछि जर्मनी पनि खडा भएको छ ।
रुसले आक्रमण जारी राखेपछि पश्चिमा राष्ट्रले सहयोगको वचन दिइरहेका छन् । अमेरिकाले एन्टिट्यांक मिसाइल, एन्टिएयरक्राफ्ट सिस्टमसमेत ३५० मिलियन डलरको हतियार उपलब्ध गराउँदै छ भने नेदरल्याण्डले पनि यस्तै हातहतियार युक्रेन पठाउँदै छ ।
Categorized in अन्तर्राष्ट्रिय