देशभरका औषधि पसलहरुमा अनुगमन सुरु
SamacharDesk | २०८० श्रावण ८, सोमबार

स्वास्थ्य मन्त्रालयले सोमबारदेखि देशरभरका औषधि पसलको अनुगमन सुरु गरेको छ ।
म्याद नाघेका औषधि बिक्री गरेको, मापदण्ड विपरित औषधि पसल सञ्चालन गरेको र बिक्री गर्न अनुमति नभएका औषधि समेत बिक्री गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड भईरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्लामा औषधि पसल अनुगमन सुरु गरेको हो ।
अनुगमनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत आफै ललितपुरमा सञ्चालित फार्मेसीको अनुगमनमा निस्किनुभएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक, विशेषज्ञ स्वास्थ्यकर्मी र स्थानीय प्रशासनसहित अनुगमनमा निस्किनुभएका मन्त्री बस्नेतले अनुगमनका क्रममा म्याद नाघेका, कतिपय बेच्नै नपाइने औषधि समेत बेच्ने गरिएको र स्पष्ट बिल नबनाएको लगायतका त्रुटी फेला परेको बताउनुभयो ।
नेपालमा हाल २५ हजार फार्मेसी अर्थात औषधि पसल दर्ता भएका छन् । तर, दर्ता नै नभइ औषधि जस्तो संवेदनशील व्यवसाय सञ्चालन गर्नेहरुको खुदखबर छैन । त्यति हुँदा पनि सरकारले यसबारे प्रभावकारी अनुगमन गर्न सकेको छैन ।
औषधि व्यवस्था विभागले अनुगमन क्रममा दर्ता नभएका पसल फेला परे बन्द गराउने र कारबाही गर्ने गरेको छ । तर, जनशक्ति अभावको बहाना बनाउँदै विभागले सबै पसलको अनुगमन गर्न सकेको छैन ।
काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका लागि २० वटा टोली खटिएका छन् । उपत्यका बाहिर ७७ वटै जिल्लामा अनुगमन सुरु भएको छ । अनुगमनपछि प्राप्त निष्कर्षका आधारमा भेटिएका त्रुटि सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
औषधि ऐनअनुसार दर्ता नगरी व्यवसाय सञ्चालन गरे ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ ।
Categorized in राष्ट्रिय