मोरङ तनावग्रस्त, विहानदेखि कर्फ्युको आदेश
SamacharDesk – राम डंगोल | २०७८ चैत्र ७, सोमबार

स्थानीयको आक्रमणबाट मोरङको लेटाङमा हिजो एक महिला प्रहरी जवानको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि सो क्षेत्रमा कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाइएको जनाउनु भएको हो ।
दक्षिणमा लेटाङ नगरपालिका वडा नंबर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
आफ्नै गुरुले छात्रामाथि हातपात गरेको आरोप लगाउँदै विद्यार्थीले आइतबार मोरङको शिक्षा विकास माविमा आक्रोश व्यक्त गरेका हुन्। विद्यालयबाट घर जाँदै गरेकी मोरङको लेटाङ–८ जाँते माविकी १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै लेटाङ–५ को शिक्षा विकास मावि तनावग्रस्त भएको हो।
कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती प्रयास गरेपछि विद्यार्थी उत्तेजित भएका हुन्।
स्थानीयले शुक्रबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले बालिकाको घर मै गएर करणी प्रयास गरेको आरोप लगाएका छन्। घरमा कोही नभएको मौकामा पुगेका शिक्षक पौडेलले जवरजस्ती प्रयास गर्दा किशोरी चिच्याएपछि उनी त्यहाँबाट भागेको स्थानीयको आरोप छ। लेटाङ –३ घर भएका शिक्षक पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन्।
हिजो यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा सात प्रहरी घाइते भएका थिए । घाइते प्रहरी मध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
लेटाङको शिक्षा विकास माविमा अध्ययनरत् १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।
हिजो दिउँसोदेखि बिद्यालय तनावग्रस्त बनेको क्षेत्रमा खटिएका प्रहरीमाथि प्रदर्शनकारीहरुले धारिलो हतियार प्रयोग गरेका थिए । आक्रोशित भिडले गरेको छुरा प्रहारबाट गम्भिर घाइते भएकी र उर्मिलालाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो ।
प्रदर्शनकारीहरुले सुरक्षार्थ खटिएका प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गरेको बुझिएको छ ।
प्रहरीले आरोपित शिक्षक मनोज पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।
Categorized in राष्ट्रिय