एनपीएलको उपाधि जनकपुर बोल्ट्ले जित्यो
SamacharDesk | २०८१ पौष ७, आइतबार

पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले हासिल गरेको छ ।
हिजो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर पुरा गरेको हो ।
जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए ।
यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।
एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गत मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।
पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ । यो प्रतियोगितामा कर्णाली याक्सबाट भारतीय स्टार क्रिकेटर शिखर धवनलेसमेत खेलेका छन् ।
साथै यो प्रतियोगिताको क्रिकेटका हस्ती ब्रायन लारालेसमेत अवलोकन गरेका थिए ।
Categorized in स्पाेर्ट्स