arin enterprises

बाढीपहिरोले एकको मृत्यु दर्जनौं बेपत्ता

SamacharDesk | २०८० आषाढ ३, आइतबार

केही दिन अगाडि नेपालमा भित्रिएको मनसुनले बाढी पहिरोको रुप लिन थालेको छ ।

संखुवासभामा शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।

बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिनुभयो । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको समेत सई टिकाराम राईले जानकारी दिनुभयो ।

खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिनुभयो । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तै अबिरल वर्षाबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् ।

पहिरोले यादव बुढाथोकीको घर बगाउँदा उनकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र नाती प्रज्वल बेपत्ता भएका हुन् ।

यस्तै मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले बाढी आउने खतरा बढेपछि बाउ आमालाई सुरक्षित स्थानमा लगेर फर्किने क्रममा बेपत्ता भएका हुन् ।

साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा परेको छ ।

यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर पनि जोखिममा परेको छ । मेहेले स्वास्थ्य चौकीको भवन पनि पहिरोले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका अधिकांश मानिस त्रसित अवस्थामा छन् । बाढी र पहिरोले जिल्लाका धेरैजसो सडक सञ्जाल पुर्णरुपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोप सहितका ठाउँमा विद्युत समेत ठप्प छ ।

मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी–पहिरो आएपछि तराई जोड्ने सडकहरु पनि अवरुद्ध बनेका छन् ।

त्यस्तै अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा  छ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित छ जना बेपत्ता भएको हो ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जनाइएको छ ।

Categorized in राष्ट्रिय