arin enterprises

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने

SamacharDesk – बिकाश | २०७८ बैशाख १९, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको चर्चा सेलाउन नपाउँदै पोखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने निर्णय सार्वजनिक भएको छ ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले फेरी संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री पोखरेलले आजै प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका थिए भने लगत्तै उनको राजीनामा स्वीकृत समेत गरिएको थियो । तर आजै बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।

पोखरेलले आजै सपथ लिन सक्ने सम्भावना समेत रहेको छ ।

वैशाख ६ गते नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए । त्यसपछि प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै पोखरेलले राजीनामा बुझाएका थिए ।

पोखरेलले आफ्नाे राजीनामा पत्रमा नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका थिए । तर राजनीतिक विश्लेषकहरूले भने आफुविरुद्ध अविश्वासको प्रस्ताव परेपछि एमालेकै एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न पोखरेलले राजीनामा दिएको बताइरहेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद थिए । केही दिन अघि जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले ८१ सांसद रहेका छन् । तीमध्ये सत्तारूढ एमालेका ४१ सांसद छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८ र चार जना सांसद निलम्बित भएपछि जसपाका दुई सांसद छन् र राष्ट्रिय जनमोर्चासँग एक सांसद छ ।

एकल बहुमतको सरकार बनाउन पोखरेललाई एमालेकै सांसदको समर्थन भए पुग्छ । तर नेपाल पक्षका दुई एमाले सांसदले पोखरेललाई समर्थन नगरी अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको थियो । यस्ताे अवस्थामा ३९ मत भएका पाेखरेललाई विश्वासको मत पुर्‍याउन गार्हो देखिएको थियो ।

तर पोखरेलको राजीनामा आएपछि पोखरेललाई विश्वासको मत पुग्न नदिने विपक्षीको रणनीतिले अब काम नगर्ने भएको छ ।

Categorized in राजनीति