एक्टिङ प्रतियोगीता अपडेट : बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता
SamacharDesk – बिराज | २०७८ जेठ १०, सोमबार

‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा सहभागीता जनाउनका लागि अब केही दिनमात्रै बाँकि छ ।
प्रतियोगीतामा भाग लिन भिडियो दर्ता गर्ने अन्तिम मिति जेठ १५ यहि आउँदो शनिबार हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले यहि शनिबारभित्र आफ्नो भिडियो ईमेलमार्फत पठाउन आयोजक संस्था सुखावति मल्टि प्रोडक्सनले आग्रह गरेको छ ।
यसैबीच प्रतियोगीतामा भाग लिनका लागि चलचित्रमा अभिनय गरिसकेका अनुभवी कलाकारदेखि ससाना बालबालिकासमेतको भिडियो प्राप्त भइरहेको आयोजक संस्थाले जनाएको छ ।
विभिन्न नेपालभाषाको साथमा नेपाली चलचित्रमासमेत आफ्नो अभिनयको प्रतिभा प्रस्तुत गरिसकेका कलाकार मोहिदिन खानले पनि प्रतियोगीतामा भाग लिएका छन् ।
साथमा तीन जना बालबालिकाले पनि सहभागीता जनाएका छन् । प्रतियोगीतामा सहभागीता जनाउने बालबालिकामा सजगता मानन्धर, सिम्रिक श्रेष्ठ र अमु शाक्य रहेका छन् ।
अनुभवी कलाकार र बालबालिकाबीच छनौट कसरी होला भन्ने प्रश्नमा सुखावतिका अध्यक्ष तुलाधरले यसबाट केही फरक नपर्ने बताएका छन् ।
‘यो एक्टिङ प्रतियोगीता हो, एक्टिङलाई हेरेर विजेता छान्ने हो, प्रतियोगीको अनुभव हेरेर होइन । जि नं एक्टिङ याये सः प्रतियोगीतामा प्रतियोगीको उमेर हद छैन, हरेकले भाग लिन सक्छन्’ तुलाधरले भने ।
प्रतियोगीतामा एक सहभागी बालिका सिम्रिक श्रेष्ठ नेपालभाषा कलाकारिता क्षेत्रका चर्चित कलाकार रुपेन्द्र श्रेष्ठकी सुपुत्री हुन् । सिम्रिकले पनि आफ्ना बुबा रुपेन्द्रसँग केही होम भिडियोमा अभिनय गरिसकेकी छन् ।
लकडाउनको समयलाई रचनात्मक बनाउँदै प्रतियोगीतामा सहभागी हुन र आउँदो शनिबारको भित्र आफ्नो भिडियो ईमेलमार्फत दर्ता गराउन प्रतियोगीताका संयोजक भोगेन्द्र मानन्धरले आग्रह गर्नुभयो । प्रतियोगीतामा नेपाली भाषामा पनि भिडियो पठाउन सकिने संयोजक मानन्धरले जानकारी दिनुभयो ।
Categorized in पेजथ्री