arin enterprises

एक्टिङ प्रतियोगीताको विजेता घोषणा हुँदै

SamacharDesk – बिराज | २०७८ श्रावण २८, बिहिबार

नयाँ कलाकारको खोजीमा शुरु भएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम घोषणा हुने भएको छ ।

प्रतियाेगीताकाे आयोजक सुखावति मल्टि प्रोडक्सनले आउँदो भाद्र ५ शनिबार एक कार्यक्रमको आयोजना गरी विजेताको नाम घोषणा गर्न लागेको हो ।

शनिबार दिउँसो १ बजेको लागि तय भएको कार्यक्रमलाई सुखावतिका अध्यक्ष सुरेन्द्र तुलाधरको युट्युब च्यानल STV बाट लाईभ पनि गरिन लागेको छ ।

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन जारी रहेको अवस्थामा सिमित उपस्थितीका बीच कार्यक्रम गर्न लागिएको अध्यक्ष तुलाधरले बताउनुभयो ।

‘कार्यक्रममा आयोजक, सहभागी, केही संचारकर्मी र निर्णायकहरुको मात्र उपस्थिती हुनेछ, प्रमुख अतिथि पनि आउनुहुनेछ । उहाँको नाम पनि चाँडै नै सार्वजनिक गर्नेछु’ तुलाधरले भन्नुभयो ।

लकडाउनको समयलाई सदुपयोग गर्दै आयोजना गरिएको प्रतियोगीतामा २६ जनाले सहभागीता जनाएका थिए ।

बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता रहेको प्रतियोगीतामा निर्णायकको रुपमा कलाकार तथा निर्देशक रामकृष्ण खड्गी, निर्देशक आर्यम नकर्मी र कलाकार हिसिला महर्जन रहेका छन् ।

विजेतालाई शिल्ड, प्रमाणपत्रको साथमा नगद पुरस्कारबाट समेत पुरस्कृत गरिने तुलाधरले जानकारी दिनुभयो ।

प्रतियोगीहरुले प्रतियोगीतामा सहभागीता जनाउन ईमेलमार्फत पठाएका एक्टिङको भिडियो हेरेर नै निर्णायकहरुले विजेताका छनौट गरेका हुन् । प्रतियोगीहरुको उक्त भिडियो पनि STV युट्युब च्यानलमै अपलोड गरिएका छन् । 

Categorized in पेजथ्री