arin enterprises

आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी आयुर्वेदिक अस्पतालविच सम्झौता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २७, सोमबार

नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ ।

यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप के.सी.ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कोभिड–१९ को दोस्रो लहरले काठमाडौँ उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढेर अस्पतालहरुको क्षमता कमी भइरहेको छ । यस्तो अवस्थामा उपचारकै अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर यो सम्झौता गरिएको महानगरले जनाएको छ ।

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ । महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ ।

बैशाख २० गते बसेको महानगरपालिकाको नगरकार्यपालिका बैठकले आइसोलेसन केन्द्रहरु स्थापना गर्ने विषयमा निर्णय गरेको थियो ।

सम्झौतापछि बोल्दै महानगर प्रमुख शाक्यले मानवीय क्षति हुन नदिन महानगरले सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन सहयोग गरिरहेको बताउनुभयो ।

‘जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको काठमाडाैँ महानगर क्षेत्र अझ जोखिममा छ’, शाक्यले भन्नुभयो, ‘जनतालाई बचाउन साझा प्रयास गरौँ, हामी सक्छौँ आत्मबिश्वाश बढाऔँ ।’

त्यस क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वाश गरेपछि महानगरलाई आफूले अभिभावकका रुपमा पाएको उल्लेख गर्नुभयो ।

अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र पाईपलाईन सहितको अक्सिजन वितरण प्रणाली विकास, अस्पतालको मर्मत सम्भार तथा रंग रोगन, आवश्यक थप जनशक्ति ब्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ ।

उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, विरामीहरुका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ ।

अस्पताललाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्ना स्वरुप महानगरले उपलब्ध गराउनेछ ।

पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आईसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ ।

आईसोलेसनको ब्यवस्थापनका लागि दुवै पक्षबाट २/२ जना प्रतिनिधि रहने आईसोलेसन ब्यवस्थापन समिति गठन गरिनेछ । समितिले आईसोलेसन संञ्चालन ब्यवस्थापनको समग्र ब्यवस्थापन गर्नेछ ।

Categorized in स्थानीय