‘विकास निर्माणको नाममा जातीय सफाया गर्न लाग्यो’
SamacharDesk – विकाश | २०७७ जेठ २९, बिहिबार

काठमाडौं उपत्यकाको सँस्कृति र सम्पदा संरक्षणमा सक्रिय यूवाहरुले राज्यले विकास निर्माणको नाममा यहाँ जातीय सफाया गर्न खोजेको दावी गरेको छ ।
सेभ नेपाः भ्यालीले विज्ञप्ती जारी गर्दै राज्यले काठमाडौं उपत्यकाका नेवाःहरुलाई विभिन्न वहानामा राज्यबाट निरन्तर रुपमा दमन गर्दै विस्थापित गर्न खोजेको आरोप लगाएको छ ।
स्थानीय वासिन्दाको विरोध हुँदाहुँदै खोकना र बुङ्गमतिका ऐतिहासिक र धार्मिक महत्वका भूमिमा सेना लगाई कब्जा गरेको भन्दै सेभ नेपाः भ्यालीले स्थानीयले खेतीपाती गर्दै आएको खेतमा समेत काम गर्न नदिएको भनेको छ ।
गत वर्ष स्थानीय किसानलाई फर्सिडोलमा धान रोप्न नदिएको सेनाले यसपाली खुदोमा पनि खेत खन्न जाँदा रोकेको सेभ नेपाः भ्यालीले जनाएको छ ।
मुआव्जा नै नलिएको भूमि समेत कब्जा गरी स्थानीयलाई खान नै नपाउने स्थितीमा पुर्याएको भन्दै सेभ नेपाःले विकासको वहानामा राज्य अराजक भई जातिय सफाया गर्न लागिपरेको समेत आरोप लगाएको छ ।
यस्तो कार्यबाट हुनसक्ने जातीय द्वन्द हुन नदिन तत्कालै समस्या समाधान गर्न माग गर्दै सेभ नेपाःले सरकारको ध्यानाकर्षण गराएको छ ।
