थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १६
SamacharDesk – विकाश | २०७७ जेठ ३१, शनिबार

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची जिल्लाको मालारानी–४ ब्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेका पुरुषको मृत्यु भएको हो ।
१२ दिन अगाडी भारतको महाराष्ट्रबाट फर्केर आइ क्वारेन्टाइनमा बसिरहेका ५७ वर्षका उक्त पुरुषमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा परिक्षण गराई फर्कँदै गर्दा कोद्रेखोलामा उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
मृतकको स्वाब संकलन गरी परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो भने हिजो आएको रिपोर्टमा मृतकमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १६ पुगेको छ । १६ मृतकमध्ये १३ जनामा संक्रमणको पुष्टि मृत्युपछि मात्र भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६३ पुगेको छ भने निको हुनेको संख्या ८ सय ७७ पुगेको छ ।
Categorized in समाज