arin enterprises

काठमाडौंमा कोभिडको उच्च जोखिममा रहेको ठाउँहरुमा एन्टिजेन्ट परीक्षण सुरु

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ४, मंगलबार

कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो ।

‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्नुहुन्छ ।

संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि भएको पौडेल बताउनुहुन्छ ।

परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनिएको छ ।

परीक्षणको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने महाशाखाका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले भन्नुभयो ।

कसैको शरीरमा कोभिडका भाइरस प्रवेश गरिसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । लक्षण देखिनु अघि कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी रहेकाे उहाँहरू बताउनुहुन्छ ।

पहिलो चरणमा करीब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरिनेछ । भोलि वडा ३२ को तरकारी बजारमा परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखिएको महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ ।

परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

Categorized in स्थानीय