arin enterprises

संक्रमणबाट बचेर मातातीर्थ औंशी मनाउन अपिल

SamacharDesk – बिकाश | २०७८ बैशाख २७, सोमबार

भोलि मातातीर्थ औंशीको सन्दर्भमा सिदादान आदि कर्म आफ्ना कुलपुरोहितको सरसल्लाहमा संक्रमणको जोखिमबाट बच्दै गर्नको लागि राजोपाध्याय समाजले आग्रह गरेको छ ।

समाजले आज अपिल जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आफ्ना कुलपुरोहितको सल्लाहमा कर्म पुरा गर्न आग्रह गरेको हो ।

‘आजको विषम परिस्थितीलाई मनन गर्दै आफ्ना कुलपरम्परा (कुलाचार) अनुसार साथै कुलपुरोहितसँग सरसल्लाह गरेर संक्रमणबाट बचेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्नुहुन यो समाज सबै संस्कारप्रेमीहरुमा विनम्र अनुरोध गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।

अध्यक्ष संजय शर्मा राजोपाध्याय र महासचिव बिराजकाजी राजोपाध्यायबाट हस्ताक्षरित अपिलमा प्रविधिको सहयोगबाट कर्म पूरा गर्न समेत आग्रह गरिएको छ ।

अनलाईनमाध्यमबाट पुरोहितको उपस्थिती र मन्त्रोच्चारण गर्न सकिने सुविधालाई सदुपयोग गर्न सकिने विकल्प पनि अपिलमार्फत समाजले दिएको छ ।

काठमाडों उपत्यकाका आदिवासी देव ब्राम्हण राजोपाध्याय नेवार समाजमा हिन्दु संस्कारका गुरु पुरोहित हुन् ।

समाचारडेस्कसँग कुरा गर्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले यस वर्ष पनि औंशीको कर्मलाई औपचारिकतामा सिमित गर्नु नै राम्रो हुने सुझाव दिनुभयो ।

‘भाइरस आफैं यताउति सर्दैन, हामी यताउति सरेपछि हामीसँगै भाइरस सर्ने हो । यहि कुरालाई मनन गर्दै यो वर्षको मातृऔंशीको औपचारिकता पूरा गर्नु राम्रो हुनेछ’ अध्यक्ष शर्माले भन्नुभयो ।

माइतीमा आमाको मुख हेर्न जाने दिदीबहिनीले पनि अहिलेको अवस्थालाई बुझेर काम गर्नको लागि शर्माले सुझाव दिनुभयो । 

Categorized in संस्कृति