अनलाईनमार्फत आईपीएलको सट्टेबाजी गर्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ बैशाख १७, शुक्रबार

रौतहटमा अनलाईनमार्फत आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।
जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईलसहित बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जैसवालले आफ्नो यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा Diamond EXTH अनलाइनमार्फत आइपीएलको सट्टेबाजी र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जैसवाललाई पक्राउ गरेको हो ।
जैसवालले अनलाईनमार्फत ४८ जनाको समूह बनाई १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
जैसवाल उपर जुवा वा सट्टेबाजी गर्न नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Categorized in अपराध