arin enterprises

प्रहरी भनी नगद र मोबाइल फोन लुटपाट गर्ने पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ २८, शुक्रबार

आफुलाई प्रहरी भन्दै मोबाइल फोन र नगद लुटपाट गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्ताखानका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरेको हो । 

गएको २५ गते काठमाडौं महानगरपालिका–६ कुशल ब्यांङ्केट अगाडी दुईजना ब्यक्तिहरुलाई आफु प्रहरी भएको बताउँदै दुई जना व्यक्तिले धाकधम्की दिएर दुईवटा मोबाइल फोनहरुको नगद ६० हजार लुटेको प्रहरीले जनाएको छ ।

ती दुई जनाले आफुलाई प्रहरी भएको बताउँदै कुशल ब्यांक्वेट अगाडीको चिया पसलमा चिया खाँदै गरेका दुई जनालाई लागु औषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगी नगद र फोन लुटेको बताइएको छ । आफुलाई प्रहरी बताउने ती दुई जनाले नगद रु ६० हजार, सामसुङ एम ३१ फोन र आइफोन १२ प्रो म्याक्स लुटेको बताइएको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ती दुईमध्येका मिश्रलाई नियन्त्रणमा लिएको हो । मिश्रको साथबाट नगद रू. १० हजार, सामसुङ एम ३१ र आइफोन १२ प्रोम्याक्सको साथमा सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय–पत्र एक थानसमेत बरामद गरेको छ ।

निज उपर चोरी तथा डाका सम्वन्धी कसुर अन्तर्गत कारवाही अगाडी बढाइएको छ । हाल काठमाण्डौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

Categorized in अपराध