arin enterprises

नक्कली पिसिार रिपोर्ट बनाउने पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ १९, बुधबार

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र विचौलिया पक्राउ परेका छन् ।

मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि. बाट नक्कली पिअिआर रिपोर्ट बनाउने पक्राउ परेका हुन् ।

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई मंगलबार पक्राउ गरिएको हो ।

हाल ललितपुर ग्वार्को बस्ने धनुषा जिल्लाका २५ वर्षीय छिट्टानको साथबाट नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएको ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसमेत बरामद गरिएको छ ।

छिट्टानलाई पक्राउ गरेपछि हस्पिटल पुगेको प्रहरी टोलीले सर्लाहीका भक्तपुर कौशलटार बस्दै आएका २४ वर्षीय हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई पनि नियन्त्रणमा लिएको छ ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुलाई नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाईदिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौं तीनकुनेमा कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई पनि १७ थान नक्कली पिसीआर रिपोर्टसहित पक्राउ गरिएको छ ।

हाल गौशाला बस्दै आएका धनुषा जिल्लाका २५ वर्षीय यादवलाइ सोही अस्पताल अगाडिबाट पक्राउ गरिएको हो ।

यादवलाई पक्राउ गरेपछि अस्पतालको ल्याबबाट ल्याबका कर्मचारी काभ्रेपलान्चोकका हाल सुर्यविनायक बस्दै आएका २९ वर्षीय माधव मैनालीलाई पनि पक्राउ गरिएको छ ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरुसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्यूटरलगायतका उपकरण र पिसिआर परिक्षण दर्ता रजिष्टरहरुसमेत नियन्त्रणमा लिइएको छ ।

दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरीको साथै पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरु भने फरार रहेको र उनीहरुको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

दुबै अस्पतालका पिसिआर ल्याबहरु सिल गरिएको छ भने पिसिआर सम्वन्धि सम्पूर्ण सेवा हाललाई बन्द गरिएको छ ।

अनुसन्धानको क्रममा कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको सिटि भ्याल्यू र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

साथै ती अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ दिएरसामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको पनि देखिन आएको बताइएको छ ।

बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई १० हजार रुपैयाँसम्म असुलेर नेगेटिभ पिसिआर रिपोर्ट बनाइदिने गरेको भेटिएको छ ।

Categorized in अपराध