arin enterprises

बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ माघ २८, शुक्रबार

जनकपुरबाट ७ महिनाको बालक अपहरणको घटनामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरेको हो ।

जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुरबाट मनिषा देवी मुखियासहित ३ जनालाई पक्राउ गरेको हो । शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा भाग्दै गरेको अवस्थामा मुखियालाई ती बालकसमेत २ वटा बच्चासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिई कुरकुरे किन्न पठाई बच्चा लिई भागेको खुल्न आएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Categorized in अपराध