लागूऔषध सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

सुनसरीमा एक जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले देवानगंज गाउँपालिका २ देवानगंज कप्तानगंज सडकबाट एक सय एमएलको ९९ बोतल डाइलेक्स डिसीसहित २२ वर्षीय शिव शंकर यादवलाई मंगलबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित देवानगंज गाउँपालिका ६ बस्ने यादवलाई पक्राउ गरेको हो ।
त्यसैगरी मकवानपुर, राक्सिराङ गाउँपालिका ५ जिर्खे खोलाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
राक्सिराङ गाउँपालिका ८ काँकडा बस्ने २६ वर्षीया सुस्मिता थिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चैनपुरबाट खटिएको प्रहरीले चेकजाँचको क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
सर्लाही, बलरा नगरपालिका ५ अर्नाहाबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित गोडैता नगरपालिका ९ बस्ने ५५ वर्षीय उपेन्द्र ठाकुर पनि पक्राउ परेका छन् ।
अर्नाहाबाट खटिएको प्रहरीले ज ७ प २७९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक ठाकुरलाई उक्त गाँजा सहित फेला पारेको हो ।
साथै, गैंडाकोट नगरपालिका २ मौलाकालिका गेट नजिकबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
२ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चितवन कालिका नगरपालिका ९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका २ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले चेत्रजाँचको क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला परी पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरुले गैंडाकोट नगरपालिका २ मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाई छिपाई राखेको अवस्थामा ६६ एम्पुल नुर्फिन समेत प्रहरीले बरामद गरेको छ ।
Categorized in अपराध