एसुसले ल्यायो संसारकै पातलो ल्यापटप
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३२, बिहिबार

एसुस ल्याएको ‘जेनबुक एस १३ ओएलईडी (यूएक्स ५३०४)’लाई संसारकै पातलो ल्यापटप रहेको दाबी गरेको छ ।
कम्पनीले एक वर्ग सेन्टिमिटर मोटाई रहेको जेनबुक एस १३ लाई विश्वकै पातलो ल्यापटप भनेर दाबी गरेको हो ।
एक किलोग्राम तौल रहेको यो ल्यापटपलाई हलुका र टिकाउ बनाउन कम्पनीले यसमा म्याग्नेसियम अल्मुनियम एलोईको प्रयोग गरेको छ ।
यसमा ब्ल्याक ५०० प्रमाणीकरण प्राप्त गरेको १३.३ इन्चको एसुस लुमिना ओएलईडी डिस्प्ले समावेश छ ।
१६ जीबी र्याम र एक टेराबाइट स्टोरेज उपलब्ध यस ल्यापटपमा ६३ वाट पावर क्षमताको ब्याट्री छ जसको सहायताले लगातार १४ घण्टासम्म भिडिओ हेर्न सकिने कम्पनीको दाबी छ । यस्तै चार्ज गर्नका लागि जेनबुक एस १३ मा ६५ वाटको एडाप्टर उपलब्ध गराएको छ ।
१३ जेन इन्टेल कोर आई सेभेन प्रोसेसरमा आधारित यो ल्यापटप विन्डोज ११ प्रो ओएसद्वारा सञ्चालित छ । यसमा आइरिस एक्स ई ग्राफिक्स समावेश गरिएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक क्यामेरा प्रणाली भएको जेनबुक एस १३ ल्यापटपमा ह्यान्डफ्री लगइन, एम्बियन्ट लाइट सेन्सर र एआई भिडिओ कल जस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
अडियो, भिडिओका लागि यसमा डल्बी भिजन एटमको सिस्टम जडान गरिएको छ । जसले ३.५ गुणासम्म भिडिओको साउन्ड बढाउन सकिने कम्पनीको दाबी छ ।
त्यस्तै क्यामेराको सन्दर्भमा यसमा फुल एचडी इन्फ्रारेड क्यामेरा जडान गरिएको छ ।
यस क्यामेरामा एआईद्वारा सञ्चालित भिजुअल इफेक्ट र एआई नोइज क्यान्सिलेसन प्रविधि जडान गरिएको छ । यसलाई १८० डिग्रीसम्म घुमाउन सकिन्छ ।
कनेक्टिभिटीका लागि कम्पनीले यसमा वाई–फाई सिक्स ई उपलब्ध गराएको छ ।
दुई ओटा थन्डरबोल्ट फोर, यूएसबी ३.२ जेन टु र एचडीएमआई २.१ पोर्ट रहेको यो ल्यापटप नेपालमा पनि सार्वजनिक भइ सकेको छ ।
एसुसका लागि नेपालको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले सोमबार यो ल्यापटप सार्वजनिक गरेको हो ।
नेपालको अनलाइन सप तथा अन्य भौतिक पसलहरूमा उपलब्ध हुने जेनबुक एस १३ ओएईडी (यूएक्स५३०४) को मूल्य २ लाख ४ हजार ४ सय ४४ रुपैयाँ तोकिएको छ ।
Categorized in बिजनेस