नवरात्रको नवौं दिन, सिद्धिदात्रीको उपासना हुँदै
SamacharDesk – बिराज | २०८० कार्तिक ६, सोमबार

आज आश्विन शुक्ल नवमीको दिन अर्थात नवरात्रको नवौं दिन । नेपालीहरुको महान चाड बडादशैंको नवौं दिन आज सिद्धिदात्रीको उपासना हुँदैछ ।
बडादशैंमा नवरात्रको क्रममा आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म माता दुर्गा भवानीको विभिन्न नौ वटा रुपको पूजा अर्चना उपासना गरिन्छ । नवमीको दिनमा यी देवी सिद्धिदात्रीको पूजा गर्नाले बाँकी सबै देवीको पनि स्वयम् उपासना हुने मान्यता छ ।
सिद्धिदात्री सम्पूर्ण सिद्धी प्रदान गर्ने देवी हुन् । यिनको उपासना गर्नाले सम्पूर्ण मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सिद्धिदात्रीकै कृपाले शिवजीले अर्धनारेश्वर रुप धारण गरेको मानिन्छ ।
सुनौलो वर्ण, त्रिनेत्रको साथमा मस्तकमा अर्धचन्द्र, चार हात भएकी, यिनको दाहिनेतर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा, देब्रेतर्फ तल्लो हातमा शंख र माथिल्लो हातमा कमलको फूल बोकेकी छिन् ।
यिनलाई लावा निकै मनपर्छ । यिनको आसन कमलको फुल हो ।
शारदीय नवरात्रको नवौं दिन अर्थात आश्विन शुक्ल प्रतिपदामा निर्वाण चक्रमा विराजमान यिनको साधना गरी साधक निर्वाण प्राप्त गर्दै परब्रह्ममा लीन हुन्छ ।
बडादशैंको क्रममा आज नेवार समुदायमा भने स्याक्वत्याक्व मनाइन्छ ।
आजको दिन नेवार समुदायमा आफ्नो पेशा वा रोजगारसँग सम्वन्धित विभिन्न औजार, सरसामग्रीको साथमा हतियार र वाहन समेत पूजा गर्ने गरिन्छ । साथमा बलि समेत दिने गरिन्छ ।
बेलुकी सबै परीवार जम्मा भएर भोज खानुका साथै विहानको पूजामा दिइएको बलिकै सिउ लिने परम्परा रहेको छ ।
Categorized in संस्कृति