arin enterprises

यसरी मनाइँदै वंशगोपाल जात्रा

SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७८ चैत्र ५, शनिबार

फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन चाँगुनारायणमा वंशगोपाल जात्रा मनाइँदै छ ।

शुक्रबार पूर्णिमाको दिन चाँगुमा तान्नेमध्ये सबैभन्दा सानो रथ निकाली वंशगोपालको जात्रा सुरु भएको छ । चाँगुनारायण मन्दिरबाट कृष्णलगायत अन्य दुई मूर्तिहरू बाहिर निकाली पूजा सुरु गरिएको थियो ।

देवतालाई स्नान गराई नयाँ वस्त्र चढाएर चाँगुनारायण मन्दिरका पुजारीले पूजा गरी रथमा विराजमान गराएपछि जात्रा प्रारम्भ हुन्छ । सानो रथ भएकोले त्यसलाई तान्न बालबालिकाहरू अग्रसर हुन्छन् ।

म्वायलि, धिमय्, झ्याली तथा पञ्चैबाजाका साथ रथलाई मन्दिरको परिक्रमा गराइन्छ ।

यससँगै पुजारी, भँडेल नाइकेहरू, जात्राको पालोवालालगायतले चाँगुनारायण, रथलाई तथा वरपरका अन्य देवतालाई र पछि एकआपसमा अबीर लगाएर होली मनाउने प्रचलन छ ।

रथलाई गुडाएर मन्दिर परिसरबाहिर पूर्वतर्फ लगी जात्रा गरिन्छ । जात्राका क्रममा रथलाई बलम्पु टोलदेखि तःखाछेँसम्म ओहोरदोहोर गराइन्छ । तःखाछेँ टोलभन्दा बाहिर रथजात्रा लग्न नहुने मान्यता छ ।

तःखाछेँ टोलमा पुजारी, नाइके, बाजालगायत बसेर जात्रा अवलोकन गर्छन् । यस दिनको ।

रथजात्राको समापनपछि पुनः बलम्पु टोलमा चाँगुनारायण पुजारीले रथबाट मूर्तिहरू निकाली झुला झुलाउँछन् । त्यहाँ पुनः पूजा गरी देवतालाई त्यहीँ पाटीमा राखिन्छ ।

भोलिपल्ट पुजारीले नित्यपूजाकै क्रममा मन्दिर परिसरबाहिर आएर वंशगोपाललाई पनि पूजा गर्नुपर्ने हुन्छ ।

जात्रा शनिबार साँझ पुनः देवतालाई रथमा विराजमान गराई मन्दिर परिसरमा लगेर विधिवत् समापन हुन्छ ।

फोटो ग्यालरी : चाँगु वंशगाेपाल जात्रा फाेटाे फिचर
Categorized in संस्कृति