आज वराह जयन्तीमा वराहको पूजा आराधना गरिँदै
SamacharDesk – कल्चर ब्यूराे | २०७८ श्रावण २७, बुधबार

आज श्रावण शुक्ल तृतीयाको दिन । आजको दिनलाई वराह जयन्तीको रुपमा मनाउने गरिन्छ ।
आजको दिनमा वराह अवतारको पूजा आराधना गर्नुका साथै वराह पुराणको पारायण समेत गर्दै आजको दिनमा भगवान विष्णुका अवतार वराहप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ ।
नेपालमा वराह जयन्तीको खासै केही साँस्कृतिक गतिविधिहरु नहुने भएपनि भारतमा यस दिनलाई ठुलै उत्सवको रुपमा मनाउने गरिन्छ ।
वैष्णव धर्म ग्रन्थ अनुसार आजको दिन भगवान विष्णुले वराह अवतार लिनुभएको थियो । आजैको दिनमा भगवान विष्णुले आफ्नो तेश्रो अवतार वराह अवतारको रूप लिएर हिरण्याक्ष दैत्यको वध गर्नुभएको जनविश्वास छ ।
भगवान विष्णुले सर्वप्रथम मत्स्य अवतार लिएका थिए । पानीमा मात्र रहन सक्ने माछा बनेपछि पानी र जमिन दुवै ठाउँमा बाँच्न सक्ने कछुवाको रुपमा दोश्रो अवतार लिएका थिए ।
तेश्रो अवतारको रुपमा एक सुंगुरको रुप लिएर पृथ्वीको उद्धार गर्नुका साथै हिरण्याक्ष दैत्यको वध गरेका थिए ।
ऋग्वेदमा उल्लेख भए अनुसार सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतंक दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए ।
असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए ।
त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान विष्णु वराहको रुप लिएर प्रकट हुनुभयो । र त्यहि वराहले आफ्नो दाँतको सहायताले पृथ्वीलाई आफ्नो मुखमा च्यापेर पानीभित्रबाट बाहिर निकाले ।
त्यसपछि वराहरुपी भगवान विष्णुले हिरण्याक्षसँग युद्ध गर्दै वध गर्नुभयो ।
वेदका अठार पुराणमध्ये वराह पुराण पनि एक हो । बराह भगवान र गुरुदेवलाइ सम्झी ध्यान, जप, पूजा, ब्रत वा पाठपारायण गरे जीवनका अन्धकाररूपी संकट हटेर ज्ञान, धर्म र पुण्य प्राप्त हुने जनविश्वास रहि आएको छ ।
Categorized in संस्कृति