वसन्त पञ्चमीमा अक्षरारम्भ तथा वसन्त श्रवण गरियो
SamacharDesk | २०८० फाल्गुण २, बुधबार

आज वसन्त पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइरहेको छ ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजका दिन बालकहरुलाई अक्षराम्भ गर्ने प्रचलन रहेको छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
त्यस्तै साहित्यकार, कलाकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
आज काठमाडौंमा सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका सरस्वती मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ ।
सरस्वतीको पूजा गरी विद्याआरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने मान्यता रहेको छ । यस दिन बालबालिकालाई नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
यसैबीच काठमाडांैको वसन्तपुरस्थित हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गरिन्छ । राष्ट्राध्यक्षको उपस्थितिमा उक्त कार्यक्रम गर्ने गर्दछ । यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासल चोकमा वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने बिश्वास छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ । यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ ।
Categorized in राष्ट्रिय