संरक्षणको पखाईमा भगीरथ भैयाको मुखाकृति
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ आषाढ ३०, बिहिबार

मल्लकाललाई साँस्कृतिक धार्मिक सम्पदा निर्माणमा स्वर्ण यूगकै रूपमा लिइन्छ । कुनै समय पाटनको राज्य संचालनमा मल्ल राजाहरुलाई नै राज्य चलाउनमा महत्त्वपूर्ण सहयोग गर्ने एक भारदार हुन् भगीरथ भैया भारो ।
दरवारका एक भारदार भएकैले उनलाई भारो भनिएको हो । भारो अर्थात भारदार, तिनै भगीरथ भैया भारोको मुखाकृति पाटन दरवार क्षेत्र मंगलबजारमा अवस्थित छ ।
ऐतिहासिक महत्त्व बोकेको भगीरथ भैयाको उक्त मुखाकृति अहिले भने दयनीय अवस्थामा संरक्षणमा पर्खाईमा रहेको छ ।
को हुन् भगीरथ भैया ?
भगीरथी भैया भारोको इतिहास केलाई हेर्दा मल्लकालमा राजापछि आफ्नो बुद्धि, बिबेक र बलका कारण निकै शक्तिशालि महामन्त्रीको रुपमा उनलाई लिइन्छ ।
उनी सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्ल गरि तीन पुस्तासम्म चौतारीया र महामन्त्रीको रुपमा रहे ।
सानै उमेरमा उनी चौतारा अर्थात महामात्य पदमा पुगेको पाटन संग्रहालयका प्रमुख सुरेश लाखे बताउँछन् । मंगलबजारमा हाल भाइदेगः पनि उनैले बनाएको बताइन्छ ।
भगीरथ भैयाले बनाएको मन्दिरलाई भैया देगः भनिएको र कालान्तर भैयाबाट भाई हुँदै भाई देगः हुन गएको विज्ञहरु बताउँछन् ।
‘उनले मन्दिर मात्र बनाएनन्, मन्दिरको दैनिक पूजाको लागि चाहिने आयस्तासमेत राखे । पाटनको इतिहास पढ्नेले भगीरथी भैयाको अध्ययन नगरी पूर्ण हुँदैन । उनको योगदानको पनि कदर गर्नुपर्ने देखिन्छ’ संग्रहालय प्रमुख लाखे बताउँछन् ।
विषेश गरि राजा श्रीनिवास मल्लको पालामा भने उनको ठुलै भूमिका र योगदान देखिन्छ । उनी पाटन दरबारमै बसेर राजालाई सल्लाह सुझाव दिनेदेखि पाटनको राज्य संचालनमै महत्त्वपूण निर्णय लिने व्यक्ति थिए ।
साथै श्रीनिवास मल्लकालीन केही अभिलेखहरुमा त राज्यको विभिन्न ठाँउमा साक्षीको रुपमा, प्रमाणको रुपमा भगीरथ भैयाको नाम उल्लेख गरेको पाइन्छ ।
राज्य संचालनमा राजापछिको स्थान पाएका यस्ता शक्तिशाली भारदारलाई पछि भने मारिएको भनिएको छ । महिलाहरुप्रति कुदृष्टि राखेको भनेर उनलाई मारिएको इतिहासमा उल्लेख गरेको पाइन्छ । दिया रेग्मीले आफ्नो पुस्तक ‘मिडिएभल नेपाल’ को दोस्रो भागमा भगीरथ भैयाको मृत्युबारेमा यहि प्रसङ्ग उल्लेख गरेकी छन् ।
भगीरथ भैयाको मुखाकृति
मल्लकालीन ऐतिहासिक व्यक्तित्त्व भगीरथ भैयाको मुखाकृति पाटन दरबार क्षेत्रको मंगःहिति पछाडि रहेको तुइलाको अर्थात वल्खु जाने बाटामो रहेको छ ।
हाल कासा प्यागोडा नामक रेस्टुरेन्ट रहेको स्थानको छेउको खाल्डोमा उक्त मुखाकृति रहेको छ । एउटा ढुंगामा कुँदेको निकै सुन्दर र आकर्षक मुखाकृतिमा भगीरथको अनुहारसहित टाउको मात्र छ ।
भगीरथ भैयाको उक्त टाउको अथवा मुखाकृतिलाई अचेल कसैले भैरव त कसैले दैत्य, कसैले छ्वास र क्षेपुसमेत भनी पुज्ने गरेको पाइन्छ । तर वास्तवमा उक्त ढुँगामा कुँदिएको मुखाकृति मल्ल राजा श्रीनिवास मल्लका महामन्त्री भगीरथी भैया भारोकै नै हो ।
उनको मुखाकृति भएको यसै स्थानमा उनलाई मारिएको र गाडेको भन्ने कथन इतिहासकारहरुको रहेको छ । सम्वन्धित निकायहरुको साथसाथै स्थानीय वासिन्दाको ध्यान पर्न नसक्दा यस मुखाकृतिको अस्तित्त्व संकटमा परेको छ ।
संरक्षणको अभावमा संकटमा पर्यो मुखाकृति
विकास र सुविधाको नाममा बाटो बढ्दै जाँदा हाल भगीरथ भैयाको मुखाकृति खाल्डोमा परेको छ । फेरी कसैको नजरमा खासै पर्न पनि नसकेको अवस्थामा त्यहि खाल्डोमा मुखाकृति पुरिनसक्ने खतरामा परेको छ ।
भगीरथको मुखाकृति रहेको उक्त खाल्डो अहिले भने बटुवाहरुको फोहर फाल्ने ठाउँ बनेको छ । त्यस्तै ढलसमेत यहिँ जम्मा हुन आउँछ । पानी पर्ने बेला त अवस्था अझ दयनीय छ ।
उचित संरक्षण नपाउँदा एक ऐतिहासिक व्यक्तित्त्वको मुखाकृति मात्र नभएर सिङ्गो ईतिहास नै संकटको अवस्थामा रहेको पाटन संग्रहालयका प्रमुख सुरेश लाखे बताउँछन् ।
‘मल्लकालमा राज्य चलाउन ठूलो योगदान दिने महामन्त्री भारोको स्मरणमा रहेको एकमात्र ऐतिहासिक सम्पदा संकटमा छ । यसको संरक्षण हुन सकिरहेको छैन, यो निकै दुःखको कुरा हो’ लाखेले भने ।यसै मुखाकृतिको संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकिय दृष्टिले विकास गर्न सकिने सम्भावना लाखे औंल्याउँछन् ।
‘स्थानीय सरकारले यसतर्फ चासो राखे राम्रो, भगीरथ भैयाको जानकारीसहित एउटा बोर्ड राखेर यसको संरक्षण गरे पर्यटक र ईतिहासका विद्यार्थीहरुको लागि पनि उपयोगी हुनसक्छ’ लाखेले सुझाव दिए ।
अहिले पनि केहि ठूलै प्रयास गर्नुपरे भगीरथी प्रयास भन्ने गरिन्छ । ललितपुर राज्यको विकासको लागि भगीरथी प्रयास गर्ने भगीरथ भैयाको ईतिहास बताउने उनको मुखाकृतिको संरक्षण हुनु जरुरी छ ।
Categorized in संस्कृति
