arin enterprises

स्वदेशी फूल बिक्री गर्न कामपाले तोक्यो ३३ ठाउँ

SamacharDesk – बिराज | २०८३ कार्तिक १९, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्र भित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ ।

यस्तै प्लाष्टिकजन्य फूल र सजावटका बस्तु बिक्रीलाई निषेध गरेको छ ।

वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेर दीपावलीका अवसरमा यस्तो व्यवस्था सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन् ।

प्रहरी बलको सूचनामा बिक्री केन्द्रका बारेमा जानकारी दिइएको छ । यसरी सार्वजनिक गरिएको सूचनामा बिक्री स्थलमा व्यवस्थापनमा सहयोग गर्न किसानले सिधै फोन गर्न सक्ने व्यक्तिको मोबाइल नम्बर समेत उल्लेख छ ।

स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाल सरकारले वातावरण संरक्षण ऐनले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको बताएको छ ।

सूचनामा भनिएको छ, ‘आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरि स्वदेशी फूल तथा मालाको विक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नुहुन सम्पूर्ण महानरवासीमा अनुरोध छ ।’

सूचनाको अवज्ञा गरि रोक लगाईएका प्लाष्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाइएमा सामाग्रीहरु जफत हुने तथा काठमाडौँ महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐन बमोजिम कारबाही हुने समेत विभागले भनेको छ ।

२०८० सालदेखि महानगरपालिकाले तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ ।

नेपाली उत्पादनलाई विदेशी फूलबाट छुट्याएर पहिचान दिन तथा बिक्रीमा प्राथमिकता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

Categorized in स्थानीय