भीम तुलाधरको ‘दोष’ बाहिरियो
SamacharDesk – बिराज | २०७८ जेठ १८, मंगलबार

नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीतको प्रिमियर भएको दावी गरिएको थियो ।
म्यूजिक भिडियो गायक तुलाधरकै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्दै पप सम्राट विष्टले ‘दोष’ गीतको अडियोको साथमा म्यूजिक भिडियोसमेत निकै उत्कृष्ट बनेको विचार राख्दै सफलताको शुभकामना दिनुभयो ।
गायक तुलाधरले आफुले निकै मेहनत लगाएर गीत बनाएको जानकारी दिँदै अब गीतको मूल्याङ्कनको जिम्मा दर्शक र श्रोतालाई दिएको बताउनुभयो ।
भर्च्युअल कार्यक्रममा म्यूजिक भिडियोका निर्देशक रवि सायमि, छायाङ्कन निर्देशक भवानी शिलाकार, ड्रोन पाइलट प्रशन्न महर्जन, मोडलद्वय निरोज शाक्य र आराध्यलक्ष्मी खड्गी, अरेंजर भुपेन्द्र बज्राचार्य, साक्सोफोन वादक शुभबहादुर सुनामले आआफ्नो अनुभव सुनाएका थिए ।
त्यस्तै गायक तथा गितारिस्ट ज्योति घिमिरे, जेम्स प्रधान, संजय श्रेष्ठले गीत निकै उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना दिए ।
म्यूजिक भिडियोको संवादमा एक समय हिट्स एफ. एम. का चर्चित आरजेहरु रवि श्रेष्ठ र रीता लिम्बुको साथमा भक्तपुर एफ. एम.की आरजे प्रतिना राई र चर्चित गायक जेम्स प्रधानसमेतले आवाज दिएका छन् ।
Categorized in पेजथ्री