समुदायको अग्रसरतामा पाटनको भीमसेन मन्दिर पुनर्निर्माण
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २६, बुधबार

वि.सं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षति व्यहोरेका सम्पदामध्ये हो, पाटनको भीमसेन मन्दिर । विनाशकारी भूकम्पको झण्डै ७ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।
संघीय स्तरबाट भएका सम्पदा पुनर्निर्माणका कार्यहरूभन्दा भीमसेन मन्दिरको पुनर्निर्माणको मोडल केही फरक रह्यो । यो मन्दिर स्थानीय समुदायको अग्रसरतामा पुनर्निर्माण भएको हो । यसरी समुदायको अग्रसरतामा पुनर्निर्माण सम्पन्न भएको पाटन दरबार क्षेत्रको यो पहिलो मन्दिर भएको भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनले जनाएका छन् ।
मन्दिर पुनर्निर्माणका लागि कूल ४ करोड ९३ लाख रकम खर्च भएको समितिले जनाएको छ । वि.सं. २०७५ माघ ७ गतेबाट समुदायकै अगुवाइमा पुनर्निर्माण कार्य सुरु गरिएको अध्यक्ष महर्जन बताउँछन् ।
पुनर्निर्माण सम्पन्न भएपछि शनिबार होम गरी विशेष क्षमा पूजा पनि गरिएको थियो ।
भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिका, एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नेपाल इन्भेस्टमेन्ट बैंकले जनही १ करोड रूपैयाँ प्रदान गरेका थिए । त्यस्तै, ललितपुर क्षेत्र नं. ३ का सांसद् पम्फा भुसाल र क्षेत्र नं. २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वाग्मती प्रदेशसभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद् विकास कोषबाट पनि आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । साथै बाँकी रकम विभिन्न समाजसेवीबाट नै जुटाइएको पुनर्निर्माण समितिका अध्यक्ष महर्जन बताउँछन् ।
मन्दिरको पुनर्निर्माणका लागि काठमाडौँ उपत्यका संरक्षण कोष (केभीपीटी)ले प्राविधिक सहयोग गरेको हो ।
पाटन दरबार क्षेत्रका कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, चारनारायण मन्दिर र मणिमण्डपका दुई पाटीको पनि पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
तस्बिर – शिवेश शर्मा
Categorized in संस्कृति