विवेकशीलका नेता थापाको अन्त्येष्टि आर्यघाटमा सम्पन्न
SamacharDesk – बिकाश | २०७८ जेठ १८, मंगलबार

आज निधन हुने विवेकशील नेपाली दलका नेता उज्वल थापाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा भएको छ ।
थापाको परिवारका सीमित सदस्य र केही नेताहरुको उपस्थितीमा नेता थापाको अन्त्येष्टि गरिएको हो ।
थापालाई विवेकशील साझाकी नेतृ रञ्जु दर्शना र नेता आलोक सुवेदीले दागबत्ती दिए । सो क्रममा नेतृ दर्शनाले थापाको सम्मानमा रातो र चन्द्र सुर्य गीत गाएकी थिइन् ।
४४ वर्षीय थापाको आज दिउँसो ४ः२५ बजे निधन भएको हो । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कोभिड १९ बाट संक्रमित थापाको हिजो मात्रै नेगेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपनि संक्रमणका कारण शरीरका भित्रि अंगलाई निकै क्षति पुगिसकेको र अवस्था निकै जटिल रहेको चिकित्सकहरुले बताएका थिए ।
चिकित्सकहरुबाट यस्तो कुरा आएपछि सामाजिक संजालको भित्ता थापाको स्वास्थ्य लाभको कामनाले भरिएको थियो ।
थापालाई नेपाली राजनीति क्षेत्रमा युवा पुस्तामा नयाँ सोचको विकास गरेका नेताको रुपमा लिइन्छ । नेपाल बन्द जस्ता विरोध कार्यक्रमको विरोध गर्दै उनले शुरुवात गरेको नेपाल खुल्ला छ अभियानले युवा पुस्तामा निकै लोकप्रियता पाएको थियो ।
Categorized in राजनीति