arin enterprises

पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सामाग्री प्रदान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आषाढ १७, बिहिबार

बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोभिड संक्रमणबाट बच्नको लागि भन्दै स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

विहारले मञ्चलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) २ सय थान, केएन ९५ मास्क २ सय थान, सर्जिकल मास्क १० हजार थान, पञ्जा ५ सय थान र सेनिटाइजर ५ सय मि.लि.को २ सय थान उपलब्ध गराएको छ ।

सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले महामारीबाट मानव जगतमा हुन सक्ने क्षति न्यूनीकरण र मनको त्रास हटाउनु अहिल सबैको पहिलो दायित्व भएको बताउनुभयो ।

सामग्री र उपकरणको अभाव खेपिरहेका संस्था र महामारीमा खान लाउन नै समस्यामा परेका परिवारलाई आफूहरुले नियमित सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले, आम नागरिकलाई सुसूचित गर्नका लागि अग्रपंक्तिमा कार्यरत करीव ३ हजार पत्रकार कोरोना संक्रमणमा परेको र करीव २० जनाले मृत्युवरण गर्नुपरेको बताउनुभयो ।

मञ्चका कोभिड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले प्राप्त सामाग्री प्राथमिकताका आधारमा पत्रकारहरु वितरण हुने जानकारी दिनुभयो ।

त्यस क्रममा त्रिरत्न स्कूलका प्रधानाध्यापक राजु लामा, इन्टरनेशनल यूथ सोसाइटीका अध्यक्ष डा. प्रियरत्न महर्जन, मञ्चका महासचिव विमलकुमार थापासहितका वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विहारले काठमाडाैँ उपत्यकासहित अन्य जिल्लामा करिब १५ हजार गरीब तथा विपन्न कोभिड प्रभावित परिवारलाई राहत सामग्री समेत वितरण गरिसकेको छ । त्यस्तै संक्रमण रोकथाम, रोगको उपचार र यस काममा खटिनेको स्वास्थ्य सुरक्षाका लागि सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

Categorized in समाज