आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत हुने
SamacharDesk | २०७९ जेठ १५, आइतबार

आगामी आर्थिक वर्ष २०७९÷८० को लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आर्थिक वर्ष २०७९÷८० को राजश्व र आय–व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नु हुनेछ । गत असारमा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि अर्थमन्त्री शर्माले भदौमा बजेटको संशोधन विधेयक ल्याउनु भएको थियो ।
जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था बमोजिम सरकारले आज बजेट ल्याउन लागेको हो ।
हिजो शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएसँगै आज आगामी वर्षको लागि बजेट प्रस्तुत हुन लागेको हो ।
देशमा विद्यमान आर्थिक संकटतर्फ बेवास्ता गर्दै सरकारले यसै वर्ष हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी बजेट तयार पारेको बुझिएको छ ।
मतदातालाई खुसी पार्ने गरी बजेट आउने अर्थमन्त्रालय स्रोतले बताएको छ । वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६८ गरिने बुझिएको छ ।
वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि हुने बताइएको छ । यस्तै कृषक र युवालाई लक्षित गरी लोकप्रिय कार्यक्रम आउने पनि स्रोतको भनाइ छ ।
यस्तै ब्यक्तिगत आय करमा छुट, राहत, अनुदान लगायतका कार्यक्रम पनि बजेटमा समेटिने स्रोतले बताएको छ । योजना आयोगले १७ खर्ब ४५ अर्बको सिलिङ निर्धारण गरे पनि बजेटको आकार त्यो भन्दा ठूलो हुने बुझिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा आर्थिक सर्वेक्षण पेश गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय