सरकारले आज १७ खर्बको बजेट सार्वजनिक गर्ने
SamacharDesk | २०८० जेठ १५, सोमबार

सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि करिब १७ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । राजश्व संकलत उच्च दरमा घटेका कारण स्रोत जुटाउने दबावमा परेका अर्थमन्त्री महतले १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गर्नुभएको बुझिएको छ ।
गत वर्ष सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत बजेटको साइज कटौती गरी १५ खर्ब ४९ अर्बमा सीमित गरिएको थियो ।
अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारका कार्यक्रमहरु समेट्ने र स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गर्ने बुझिएको छ । यस्तै विभिन्न नामका समितिहरु पनि खारेज हुने संभावना रहेको छ । ठूला परियोजनाहरु नथपिने भएका छन् ।
यस्तै केही संस्थानहरुको निजीकरण तथा मर्जको कार्यक्रम पनि आउने बुझिएको छ । सदा झैं मदिरा र सूर्तिजन्य पदार्थको कर बढ्ने पक्का छ भने यस पटक विद्युतीय सवारीमा पनि करको बोझ थपिने बुझिएको छ ।
कर्मचारीको तलब नबढ्ने र सामाजिक सुरक्षा भत्ता पनि नबढ्ने बुझिएको छ ।
Categorized in राष्ट्रिय