नेवाः फिल्म क्षेत्रलाई कत्तिको टेवा पुर्याउला त ‘तिबः’ ले
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ जेठ २६, शनिबार

एउटा फिल्म बनाउनु भनेको कुनै जोखिमको काम हो र ? शायद प्रायको उत्तर होला, ‘होइन, फिल्म बनाउनु भनेको पनि के को जोखिम नि ।’
तर फिल्म बनाउनु वा फिल्मको सुटिङ भनेको पनि कम जोखिमको काम होइन रहेछ । यस्तै महसूस भयो, नेपालभाषाको नयाँ फिल्म ‘तिबः, दि सपोर्ट’ का छायाङ्कार अमर चित्रकारको भोगाई सुन्दा ।
यो फिल्मको सुटिङ ४०६५ मिटर माथि रहेको पिके हिमाल र ३१४६ मिटर माथि सैलुंगमा पनि गरिएको छ । सुटिङ सम्पन्न गरेर फर्किने क्रममा अरु सबै अगाडी पुगे, छायाङ्कार अमर मात्रै के भएर हो बाटो बिराएछन् र कुनै एउटा खोंचमा अड्किए ।
मानव बस्ती भएको ठाउँ होइन, मान्छेहरु निरन्तर हिँड्डुल भइरहने पनि होइन । त्यो बेला अमरले त ल, आज मेरो जिन्दगी सकियो भनेरै सोच्न भ्याइसकेका रहेछन् ।
‘तिबः’ को आगामी शो र विभिन्न पक्षबारे जानकारी दिन काठमाडौंमा फिल्ट युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो भोगाई सुनाए । ‘घर सम्झें, परिवार बच्चाहरु सम्झें । ल, अब परिवारसँग भेट्न पाइन्न जस्तो भइसकेको थियो । ठुलो ठुलो स्वरले कराएँ । त्यसैबेला एक जना गाइड आएर मलाई बचाए’ अमरले सुनाए ।
आम सोचाईमा कति साधारण तर फिल्डमा त यस्तो भोगाई पनि भोग्नु पर्दो रहेछ ।
हुन त, बलिउडमा अक्षय कुमार, अजय देवगण स्टन्ट गर्दा घाइते भएको समाचार पनि हामीले नसुनेको होइन । जैकि च्याङ पनि कैयन पटक घाइते भए । नेपालमै पनि सुटिङको क्रममा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको खुट्टा भाँचिएको थियो ।
यस्तो घटना, अवस्थाहरु हेर्दा, सुन्दा फिल्म निर्माण पनि कम जोखिमको काम होइन रहेछ भन्ने बुझिन्छ ।
भौतिक रुपमा जोखिम मोल्नुपर्ने एउटा विषय त भइहाल्यो । संसारका हरेक कुनामा बन्ने हरेक फिल्ममा जोखिम त रहन्छ नै, लगानीको । हरेक फिल्ममा निर्माताले जोखिम मोलिरहेकै हुन्छ ।
कतै लाखौं होला, कतै करोडौं होला, फिल्ममा लगानी त गर्नैपर्यो । लगानी डुब्छ कि उठ्छ थाहा हुन्न ।
पत्रकार सम्मेलनमा बोल्दै तिबः का निर्माता सर्जु रंजितले नेवाः फिल्म क्षेत्रलाई एउटा स्तरीय चलचित्र दिनुपर्छ भनेरै ‘तिबः’ बनाएको र अब यसको भविष्य दर्शककै हातमा रहेको बताए ।
‘एउटा स्तरीय चलचित्र बनोस् भनेर ठुलै लगानी गरिसकें । मलाई यसबाट नाफा कमाउनु छैन । तर, लगानी मात्र उठेपनि म छुट्टै कोष बनाउँछु र अर्को फिल्ममा लगानी गर्छु’ निर्माता रंजितले भने ।
फिल्मका निर्माताहरुको यस्तो सोचाईमा बाधक बन्ने गर्छ ‘पासको माग ।’
निर्माताले लाखौं वा करोडको संख्यामा लगानी गर्छ, कलाकार र प्राविधिकले हप्तौं महिनौं मिहिनेत गरेर एउटा फिल्म तयार भएर बजारमा आउँछ ।
अनि टिकट किनिदिनु भन्दा आफ्ना मान्छेहरु आएर तेरो फिल्मको पास एउटा पनि नदिने भन्दै पास माग्न आउँदा फिल्मकर्मीहरुको मन खिन्न हुने गर्छ ।
अहो, यो कुरा गरिरहँदा गीतसंगीतको पक्षको त चर्चा गर्न नै बिर्सिएछ । अहोहो, कति धेरै मान्छेहरु के के मात्र काममा खटिनुपर्ने रहेछ, एउटा फिल्म तयार हुन
एक पटक सोचौं न, निर्माताको लगानी त भयो नै, कति प्राविधिक, कति कलाकाहरुको के के मात्र मिहिनेत यसमा पर्छ ।
परिकल्पनाकारको कथावस्तुको परिकल्पना, कथाकारको कथा, फेरी पटकथा, संवाद लेखन । कलाकार छनौट, सुटिङमा कलाकारहरुको मेकअप, लाइटम्यान, स्पटब्वाइहरुको परिश्रम, छायाङ्कारको छायाङ्कन अनि निर्देशकया निर्देशनमा फिल्मको सुटिङ हुन्छ ।
सुटिङ सम्पन्न हुँदैमा नै कहाँ फिल्म तयार हुन्छ र ? भिज्युअल एडिटरले सुटिङ गरी ल्याएको हरेक सटलाई काँटछाँट गर्दै राम्रा ओक सटहरु राख्दै भिज्युअल एडिटिङ गर्छ । ब्याकग्राउन्ड स्कोर, कलर प्रोसेसिङ ।
अहो, यो कुरा गरिरहँदा गीतसंगीतको पक्षको त चर्चा गर्न नै बिर्सिएछ । अहोहो, कति धेरै मान्छेहरु के के मात्र काममा खटिनुपर्ने रहेछ, एउटा फिल्म तयार हुन ।
दर्शकलाई सजिलो छ । टिकट किन्ने, फिल्म हेर्ने, राम्रो लागे राम्रो छ भनिदिने, नराम्रो लागे फिल्म त राम्रो छैन रहेछ भन्ने, बस् । यतिमा पनि टिकट एउटा किनिदिउँ न भनी आग्रह गर्दा ‘पास छैन ?’ भन्ने प्रश्न आएपछि उत्तरविहिन बन्नुपर्ने हुन्छ चलचित्रकर्मीहरु ।
प्राय नेपालभाषाका साथै मातृभाषी फिल्महरु प्रतिस्पर्धात्मक बजारमा हलहरुको नियमित शोमा जान सकेका छैनन् । यस्तो अवस्थामा कुनै निश्चित दिनको लागि हल बुक गरी ३०० देखि ५०० सम्मका टिकट आफ्नै साथीभाई, नातागोता वा चिनजानकै सर्कलमा विक्री गर्दै शो लगाउने गरिन्छ ।
यस्तोमा टिकट विक्री गर्न जाँदा प्रोत्साहनकै लागि भएपनि एउटा दुईटा टिकट किनिदिनुको साटो पास माग्ने प्रवृत्तिले हैरान छन् निर्माता एवम् फिल्मकर्मीहरु । अब यो पासको प्रवृत्तिलाई अन्त्य नै गर्नको लागि आफुहरुले पहल गरेको तिबः का निर्देशक रवि सायमिले बताए ।
‘फिल्म निर्माण भनेको न सजिलो काम हो, न आर्थिक दृष्टिकोणले थोरै पैसाले पुग्ने हो । लाखौंको लगानी गर्यो, त्यत्रो मिहिनेत गर्यो । अनि टिकट एउटा किनिदिन पनि यत्रि कन्जुस्याईँ देखाइन्छ । हाम्रो मन त दुख्छ नि’ निर्देशक सायमिले भने ।
नेपालाभाषाको शब्द ‘तिबः’ को अर्थ टेवा दिनु हो । यो फिल्म नेपालभाषाको फिल्म क्षेत्रको लागि नै एउटा टेवा सावित होस् भनेर फिल्मको नाम नै तिबः राखेको सायमि बताउँछन् ।
‘आजकाल चार पाँच सय भनेको के हो ? तर सबैले म नेवाः फिल्मको लागि पाँच सय रुपैयाँ खर्च गरेर टिकट किनेरै फिल्म हेर्न जान्छु भनेर सोचेमा हाम्रो लागि ठुलै टेवा हुन जान्छ’ सायमिले भने ।
पत्रकार सम्मेलनमा तिबः फिल्मका संगीतकार भुपेन्द्र बज्राचार्य र रचनाकार संघरत्न शाक्यले पनि आआफ्ना विचार राखेका थिए ।
पत्रकार सम्मेलनमा फिल्मको बारे जानकारी दिँदै निर्देशक सायमिले वर्तमान परिस्थितिमा समाजमा विद्यमान समसामायिक कथावस्तुमा आधारित भई १८ महिनाको अथक प्रयास पछि एउटा स्तरीय चलचित्र दर्शकसामु ल्याएको बताए ।
आमाबुबालाई छोडेर सन्तान विदेशिने बाध्यतालाई चलचित्रको माध्यमबाट प्रस्तुत गरिएको बताइएको छ ।
नेपालको साथै अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुको समेत भूमिका रहेको फिल्म ४०६५ मिटर माथि पिके र ३१४६ मिटर माथि सैलुंग लगायतका हिमाली क्षेत्र र अमेरिकाको मेरील्याण्डमा समेत छायाङ्कन गरिएको छ ।
ओमशंकर श्रेष्ठको कथामा ओमशंकर, सुशील राजोपाध्याय र निर्देशक सायमि समेतले पटकथा लेखेका छन् । संघरत्न शाक्य, राजेन्द्र महर्जन, ओमशंकर श्रेष्ठको रचनालाई भुपेन्द्र बज्राचार्य, शिव शाही र सुशील राजोपाध्यायले संगीतवद्ध गरेका छन् ।
गीतहरुमा सतिस महर्जन, दिपा महर्जन, सरस्वती मानन्धर, गौतम दास मानन्धर, राजीव राजोपाध्यायको साथै चलचित्रका निर्माता सर्जु रंजित र छायाङ्कार अमर चित्रकारले आवाज दिएका छन् ।
Categorized in पेजथ्री