arin enterprises

आइपीएल २०२३ को उपाधि चेन्नईलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १६, मंगलबार

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ ।

अहमदाबादमा सम्पन्न भएको खेलमा गुजरातले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले ब्याटिङ सुरु गरेको पहिलो ओभरमा भारी वर्षा भएपछि खेल रोकिएको थियो ।

लामो समय रोकिएको खेल पाँच ओभर घटाएर सुरु गर्दा चेन्नईले १ सय ७१ रनको नयाँ लक्ष्य पाएको थियो । चेन्नईले १ सय ७१ रनको लक्ष्य निर्धारित १५ ओभरको अन्तिम बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईलाई जितको लागि अन्तिम २ बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै जिताएका थिए ।

चेन्नईलाई उपाधि जित्न ओभरमा १३ रन चाहिँएको थियो । बलिङमा मोहित शर्मा आउँदा क्रिजमा शिबम दुबे र रविन्द्र जडेजा रहेका थिए ।

मोहित शर्माले पहिलो बल दुबेलाई डट राखे । दोस्रो बलमा एक रन बटुलेपछि ४ बलमा १२ रन चाहिँएको थियो । तेस्रो बलमा जडेजाले पनि एक रन नै बटुले ।

चौथो बलमा पनि एक रन नै दिएपछि उपाधि कठिन बनेको थियो । पाँचौं बलमा जडेजाले छक्का प्रहार गर्दै अन्तिम बलमा जितको लागि चार रन चाहिँएको थियो ।

अन्तिम बलमा जडेजाले चौका हान्दै उपाधि पक्का गराएका हुन् ।

चेन्नईका लागि डेभोन कन्वेले सर्वाधिक ४७ रन बनाए । उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । 

शिबम दुबे २१ बलमा २ छक्कासहित ३२ रनमा अविजित रहँदा रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे ।

बलिंग तर्फ गुजरातका मोहित शर्माले  ३ तथा नूर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनायो ।

गुजरातका लागि साई सुदर्शन र ऋद्धिमान शाहले अर्धशतकीय ईनिङ्स खेले । सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ९६ रनको उत्कृष्ट पारी खेले ।

यस्तै शाहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए ।

पछिल्लो चार खेलमा तीन शतक बनाएका गिलले २० बलमा ७ चौकाको सहयोगमा ३९ रन बनाए । कप्तान हार्दिक पान्ड्याले २१ बलमा २ छक्काको सहयोगमा अविजित २१ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिरानाले २ तथा दीपक चहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिए ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यो जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानसँग बराबरी गरेको छ ।

उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने क्रमबाट चुकेको छ ।

Categorized in स्पाेर्ट्स